रुद्रहरि भण्डारी
मानव जीवनमा चार दशकको समय एउटा युग परिवर्तनको साक्षी बन्न पर्याप्त हुन्छ । निजामती सेवामा बिताएका मेरा चार दशकमध्ये झन्डै तीन दशक शिक्षा प्रशासनमै समर्पित रहे । यस अवधिमा शिक्षा मन्त्रालय, जिल्ला शिक्षा कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, बागमती प्रदेशको शिक्षा हेर्ने मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रदेखि नीति निर्माण र कार्यान्वयनसँग सम्बन्धित विभिन्न निकायमा रहेर काम गर्ने अवसर पाएँ । ती वर्षहरू केवल सरकारी सेवाका अभिलेख मात्र थिएनन्; ती नेपालको शिक्षाप्रणाली, सामाजिक रूपान्तरण र नयाँ पुस्ताको विकास यात्रालाई नजिकबाट नियाल्ने मात्र होइन; त्यसलाई दिशा दिने नीति निर्माण, कार्यक्रम विकास र कार्यान्वयनका अनेकौँ प्रयासमा प्रत्यक्ष सहभागी बन्ने अमूल्य अवसर पनि थिए ।
यस यात्रामा चक, डस्टर र कालोपाटीबाट सुरु भएको शिक्षण प्रणाली ह्वाइट बोर्ड, कम्प्युटर ल्याब, मल्टिमिडिया प्रोजेक्टर हुँदै आज स्मार्टफोन, ट्याब्लेट र कृत्रिम बौद्धिकता (एआई) सम्म आइपुगेको प्रत्यक्ष देख्ने अवसर मिल्यो । कुनै समय शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग विस्तार गर्न नीति, योजना र कार्यक्रम बनाउँदा हामी शिक्षाकर्मी उत्साहित थियौँ । उद्देश्य स्पष्ट थियो– दुर्गम गाउँसम्म कम्प्युटर पुर्याउने, विद्यालयमा इन्टरनेटको पहुँच विस्तार गर्ने र नेपाली विद्यार्थीलाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि सक्षम बनाउने ।
त्यस समयको सोच गलत थिएन । प्रविधिले सिकाइका नयाँ अवसर सिर्जना गर्यो, सूचना प्राप्त गर्ने माध्यम विस्तार गर्यो र शिक्षामा पहुँच बढाउन भूमिका निर्वाह गर्यो । विशेष गरी भौगोलिक विकटता, स्रोतको अभाव र आकस्मिक परिस्थितिमा प्रविधि उपयोगी बन्यो तर आज शिक्षा क्षेत्रको लामो अनुभव बोकेको शिक्षाकर्मी, अभिभावक र सचेत नागरिकका रूपमा वर्तमान अवस्था नियाल्दा चिन्ता उत्पन्न हुन्छ । प्रविधि आफैँ समस्या होइन; यसको अनियन्त्रित, असन्तुलित र उमेर अनुसार अनुपयुक्त प्रयोग मुख्य चुनौती बनेको छ ।
बदलिएको बालसंसार
हामीले साक्षरता दर, डिजिटल पहुँच र इन्टरनेट प्रयोगका सूचकाङ्क बढायौँ तर सँगसँगै बालबालिकाको एकाग्रता, पठन संस्कार, सिर्जनशीलता र सामाजिक अन्तर्क्रियामा चुनौती देखिन थालेका छन् । धेरै अभिभावक र शिक्षकले विद्यार्थीको ध्यान पढाइभन्दा मोबाइलतर्फ बढी केन्द्रित भएको अनुभव गर्छन् । यही अवस्थाले बालमनोविज्ञान र शिक्षाको गुणस्तरबारे गम्भीर बहस आवश्यक बनाएको छ ।
नेपाली समाजमा बालबालिकाका हातमा स्मार्टफोन व्यापक रूपमा पुग्ने मुख्य मोड कोभिड–१९ महामारी बन्यो । विद्यालय बन्द भए, नियमित पठनपाठन अवरुद्ध भयो र सिकाइलाई निरन्तरता दिन वैकल्पिक माध्यम अपनाउनु अपरिहार्य बन्यो । यही परिस्थितिमा अनलाइन कक्षा, डिजिटल सामग्री र मोबाइलमा आधारित सिकाइलाई सरकारले प्राथमिकता दियो । अभिभावकले पनि कठिन आर्थिक अवस्थाबिच आफ्ना छोराछोरीका लागि मोबाइल र इन्टरनेटको व्यवस्था गरे । त्यो निर्णय तत्कालीन परिस्थितिको आवश्यकता थियो । अनलाइन सिकाइको विकल्प खोजिएको नहुने हो भने लाखौँ विद्यार्थी लामो समय शिक्षाबाट वञ्चित हुने अवस्था आउन सक्थ्यो । त्यसैले महामारीका बेला प्रविधिको प्रयोगले शिक्षाप्रणालीलाई निरन्तरता दिन महत्वपूर्ण योगदान पुर्याएको तथ्य स्वीकार गर्नु पर्छ ।
तर महामारीपछि देखिएको अर्को यथार्थ भने अझ चुनौतीपूर्ण बन्यो । विद्यालय खुले, नियमित कक्षा सञ्चालनमा आए तर धेरै बालबालिकाको हातबाट मोबाइल छुटेन । अध्ययनका लागि किनिएका उपकरण बिस्तारै सामाजिक सञ्जाल, छोटा भिडियो, अनलाइन गेम र अन्य मनोरञ्जनका माध्यम बन्दै गए । कतिपय विद्यार्थीका लागि मोबाइल पढाइको साधनभन्दा मनोरञ्जनको केन्द्र बन्न पुग्यो । यही अवस्थाले विद्यालय, परिवार र समाजलाई नयाँ चुनौतीको सामना गर्न बाध्य बनाएको छ ।
आज धेरै शिक्षकले विद्यार्थीको घट्दो एकाग्रता, पठनप्रतिको अरुचि, हस्तलेखन अभ्यासमा आएको कमी तथा छोटो उत्तर खोज्ने प्रवृत्तिबारे चिन्ता व्यक्त गरिरहेका छन् । यस्ता चुनौती नेपालमा मात्र होइन, विश्वका धेरै मुलुकमा पनि बहसको विषय बनेका छन् । त्यसैले अबको प्रश्न प्रविधि प्रयोग गर्ने कि नगर्ने भन्ने होइन; त्यसलाई बालबालिकाको उमेर, आवश्यकता र सिकाइको उद्देश्य अनुसार कसरी सन्तुलित बनाउने भन्ने हो ।
प्रविधिको प्रभाव
विश्वका विभिन्न देशमा विद्यालय शिक्षामा डिजिटल उपकरणको प्रयोगबारे पछिल्ला वर्षहरूमा पुनर्विचार हुन थालेको छ । यसको अर्थ प्रविधिलाई विद्यालयबाट हटाउने भन्ने होइन । कुन उमेरका बालबालिकालाई, कस्तो अवस्थामा र कुन सिकाइका लागि प्रविधि प्रयोग गर्ने भन्ने विषयमा ध्यान दिन थालिएको हो । केही देशले प्राथमिक तहमा हस्तलेखन, पुस्तक पढ्ने बानी, शिक्षक र विद्यार्थीबिचको प्रत्यक्ष सम्बन्ध तथा खेलबाट सिकाइलाई बढी महत्व दिएका छन् । कतिपय देशले विद्यालयमा व्यक्तिगत मोबाइलको प्रयोगमा कडाइ गरेका छन् भने केहीले उमेर अनुसार डिजिटल उपकरण प्रयोग गर्ने व्यवस्था गरेका छन् । अन्तर्राष्ट्रिय संस्थाले पनि डिजिटल प्रविधि प्रयोग गर्दा त्यसको शैक्षिक उपयोगिता, सन्तुलन र उपलब्ध प्रमाणलाई आधार बनाउनुपर्नेमा जोड दिएका छन् । यसबाट एउटा कुरा के स्पष्ट हुन्छ भने प्रविधि आफैँ शिक्षा होइन । यो सिकाइलाई सहज बनाउने साधन हो । प्रविधि उपलब्ध हुँदैमा मात्र शिक्षाको गुणस्तर सुधार हुन्छ भन्ने मान्न सकिँदैन ।
नेपालमा पनि डिजिटल पहुँच बढाउनु आवश्यक छ तर त्यससँगै बालबालिकाको पढ्ने बानी, शिक्षकसँगको प्रत्यक्ष सम्बन्ध, सामाजिक व्यवहार, मानसिक विकास र सिर्जनात्मक क्षमतामा पर्ने असरलाई पनि ध्यान दिनु पर्छ । त्यसैले प्रविधि प्रयोग गर्ने वा नगर्ने भन्नेभन्दा पनि कहाँ, कति र कुन उद्देश्यका लागि प्रयोग गर्ने भन्ने विषयमा स्पष्टता आवश्यक छ । नेपालले वर्तमान अवस्था र प्रविधिको प्रयोगबाट पर्न सक्ने दीर्घकालीन असरलाई समेत ध्यानमा राखी स्पष्ट र व्यावहारिक नीति तयार गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय अभ्यासबाट नेपालले लिनुपर्ने मुख्य सन्देश पनि यही हो ।
आज विभिन्न विद्यालयको अवस्था नियाल्दा एउटा नयाँ चुनौती स्पष्ट देखिन्छ । धेरै स्थानीय तहले स्मार्ट बोर्ड, इन्टरनेट र अन्य डिजिटल उपकरण उपलब्ध गराएका छन्; जुन सकारात्मक प्रयास हो तर प्रविधि उपलब्ध गराउनु मात्र पर्याप्त हुँदैन; त्यसको उद्देश्यपूर्ण, जिम्मेवार र सन्तुलित प्रयोग सुनिश्चित गर्नु अझ महत्वपूर्ण हुन्छ । कतिपय विद्यालयमा शिक्षकले पढाइरहेका बेला विद्यार्थीको ध्यान बारम्बार मोबाइल वा अन्य डिजिटल माध्यमतर्फ आकर्षित हुने गरेको अनुभव सुनिन्छ । यसले सिकाइको गुणस्तर, एकाग्रता र कक्षाकोठाको शैक्षिक वातावरणमा असर पार्ने सम्भावना बढाउँछ । धेरै अभिभावकले पनि नयाँ प्रकारका समस्याबारे गुनासो गर्न थालेका छन् । मोबाइल नपाउँदा बालबालिका असहज र अधैर्य हुने तथा अत्यधिक प्रयोगको बानीका कारण पढाइमा ध्यान दिन कठिनाइ हुने, परिवारसँग संवाद कम गर्ने वा अधिकांश समय कोठाभित्रै डिजिटल उपकरणमा व्यस्त रहने प्रवृत्ति बढेको अनुभव उनीहरूले सुनाउने गरेका छन् । यस्ता सबै समस्या एउटै कारणले मात्र उत्पन्न भएका होइनन् तर अत्यधिक र अनियन्त्रित डिजिटल प्रयोग एउटा महत्वपूर्ण कारणका रूपमा देखिन थालेको छ । यसैले आजको बहस प्रविधिको विरोध गर्ने होइन, बालबालिकाको विकाससँग सन्तुलित रूपमा जोड्ने उपाय खोज्ने हुनु पर्छ ।
अत्यधिक स्क्रिन प्रयोगले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा विभिन्न प्रकारका चुनौती ल्याउन सक्छ । गुगल वा कृत्रिम बौद्धिकता (एआई) जस्ता साधन उपयोगी भए पनि त्यसैमा पूर्ण निर्भर हुने बानीले विश्लेषणात्मक सोच र सिर्जनशीलतालाई कमजोर बनाउन सक्छ । स्वास्थ्यका दृष्टिले पनि लामो समय स्क्रिनमा बिताउने बानीले आँखामा तनाव, निद्राको समस्या, शारीरिक निष्क्रियता, मोटोपन तथा घाँटी/ढाड दुख्ने समस्या बढाउन सक्छ । त्यस्तै असुरक्षित डिजिटल प्रयोगले साइबर बुलिङ, अनलाइन ठगी, अनुपयुक्त सामग्रीमा पहुँच र गोपनीयतासम्बन्धी जोखिम पनि बढाउन सक्छ । त्यसैले डिजिटल साक्षरताको अर्थ उपकरण चलाउन सिकाउनु मात्र होइन; सुरक्षित, जिम्मेवार र नैतिक प्रयोगको संस्कार विकास गर्नु पनि हो । यस्ता जोखिमबारे अन्तर्राष्ट्रिय अध्ययनले पनि सावधानी अपनाउनुपर्ने देखाएका छन् ।
कसको जिम्मेवारी ?
बालबालिकाका समस्या उनीहरूको मात्र कमजोरी होइनन्; यसमा परिवार, विद्यालय र समाजको समेत प्रभाव रहन्छ । डिजिटल प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकामा निर्भरता बढाएको छ । सहरीकरणसँगै खेलमैदान र बालमैत्री स्थान घट्दा बालबालिका मोबाइलतर्फ आकर्षित भएका छन् । बच्चालाई शान्त गराउन मोबाइल दिने अभिभावकीय बानीले समस्यालाई अझ गहिरो बनाएको छ ।
यो चुनौतीको सामना गर्न राज्य, विद्यालय र परिवारको साझा प्रयास अपरिहार्य छ । शिक्षानीतिले प्रविधिलाई सिकाइको सहयोगी मात्र बनाउनु पर्छ भने प्राथमिक तहमा खेल, पुस्तक पठन र सिर्जनात्मक गतिविधिलाई प्राथमिकता दिनु पर्छ । स्थानीय तहले बालमैत्री सार्वजनिक स्थान र पुस्तकालय निर्माण गर्नु पर्छ । परिवारभित्र पनि ‘नो–फोन’ अभ्यास जस्ता अनुशासन बसाल्नु जरुरी छ ।
हामी डिजिटल युगमा भएकाले प्रविधिलाई पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन तर यसको विवेकपूर्ण प्रयोगको संस्कार विकास गर्नु आजको आवश्यकता हो । बालबालिकालाई प्रविधिसँगै प्रकृति, खेल र समाजसँग जोगाइराख्नु पर्छ । सही नीति र संस्कारले मात्र उनीहरूको बौद्धिक र भावनात्मक विकासलाई सही दिशा दिन सक्छ । समयमै उचित निर्णय लिएमा प्रविधि बालबालिकाको प्रगतिको सशक्त सहयात्री बन्न सक्छ । गोरखापत्रबाट
